Home / news / इन्दुशंकरको धमाधम भुक्तानी

इन्दुशंकरको धमाधम भुक्तानी

माघ २४ गत्ते,सर्लाही ।
हरिवनस्थित इन्दुशंकर चिनी उद्योगले किसानलाई यो सिजनमा क्रसिङ गरिएको उखुको भुक्तानी दिन सुरु गरेको छ ।

जिल्लाको दक्षिणी क्षेत्रका दुई चिनी उद्योगले उखुको बक्यौता र सरकारले अनुदानबापत किसानलाई गत वर्षकै भुक्तानी दिएका छैनन् ।

पुस ११ बाट क्रसिङ सुरु गरेको इन्दुशंकरले बुधबारसम्म १५ लाख ६२ हजार क्विन्टल उखु क्रसिङ गरेको छ । त्यसबापत किसानलाई २२ करोड रुपैयाँ भुक्तानी गरिएको मिलका उखु प्रबन्धक योगनारायण रजकले बताए ।

उनले किसानसँग गरिएको सहमतिअनुसार यस वर्षको भुक्तानी दिन थालिएको जानकारी दिए । ‘समयमा भुक्तानी पाएपछि किसान पनि खुसी छन्,’ उनले भने, ‘समयमा किसानले भुक्तानी र अनुदान नपाउँदा निराश थिए, उखु खेती पनि घटेको छ ।’

प्रत्येक वर्ष किसानको सहमतिमा उखु क्रसिङ सुरु हुने भए पनि यसअघिका वर्षमा उद्योगले भुक्तानी दिँदा सहमति भंग गरेको थियो ।
गत वर्ष ३५ लाख क्विन्टल उखु क्रसिङ गरेको उद्योगले यस वर्ष ३० लाख क्विन्टल मात्र क्रसिङ गर्ने लक्ष्य लिएको उनले बताए । भुक्तानीमा झमेला र सरकारबाट समेत समयमा अनुदान नपाएपछि उखु खेती घट्दै गएकाले लक्ष्य घटाइएको उद्योगले जनाएको छ ।

जिल्लाको बगदहस्थित महालक्ष्मी चिनी उद्योग र धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगले गत वर्षको भुक्तानी अझैसम्म दिएका छैनन् । इन्दुशंकरले भने गत वर्षको भुक्तानी दसैंअघि नै किसानलाई दिइसकेको बताएको छ ।

प्रत्येक दिन ४५ हजार क्विन्टल उखु क्रसिङ गरिरहेको इन्दुशंकरले यस वर्ष प्रत्येक दिन एक करोडको हाराहारीमा किसानलाई भुक्तानी दिइरहेको दाबी गरेको छ ।

नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले कतिपय उद्योगले यस वर्षको भुक्तानी दिन थाले पनि सरकारले गत वर्षको अनुदानबापत ३६ करोड तथा महालक्ष्मी र अन्नपूर्ण चिनी उद्योगले करिब ५० करोड रुपैयाँ भुक्तानी नदिएको गुनासो गरे ।

उनले किसानले भुक्तानी नपाउँदा घरव्यवहार धान्न मुश्किल परेको दुखेसो पोखे । उखुको भुक्तानी र समयमा अनुदान नपाउँदा किसान निराश भएर उखु खेती गर्नै छाडेको उनको भनाइ छ । ‘चिनी उद्योग र सरकारबाट भुक्तानी नपाएर उखु किसान निराश छन्, यसको असर उत्पादनमा देखिएको छ,’ मैनालीले भने, ‘यस्तै अवस्था रहे उखु उत्पादनमा अग्रणी रहेको सर्लाहीमा उखु पाउन मुश्किल पर्नेछ ।’

इन्दुशंकरसँग १३ हजारभन्दा बढी किसानले उखु बिक्री गर्दै आएका छन् । उद्योगमा उखु पुर्‍याएको १५ दिनभित्रै किसानले सोबापतको रकम पाइरहेको उखु प्रबन्धक रजकले दाबी गरे । मिलले गत वर्षको समर्थन मूल्य प्रतिक्विन्टल ५ सय ३६ रुपैयाँ २८ पैसालाई आधार मानेर सरकारले दिने अनुदान प्रतिक्विन्टल ६५ रुपैयाँ २८ पैसा घटाएर किसानलाई यस वर्षको उखुको भुक्तानी दिएको उनले जनाए ।

सरकारले गत वर्ष उखुको मूल्य प्रतिक्विन्टल ५ सय ३६ रुपैयाँ २८ पैसा कायम गरेर मिलले किसानलाई प्रतिक्विन्टल ४ सय ७१ रुपैयाँ भुक्तानी गर्ने र प्रतिक्विन्टल ६५ रुपैयाँ २८ पैसा सरकारले अनुदान दिने आश्वासन दिएको थियो ।
गत वर्ष उखु बेचेका किसानको सरकारी अनुदानबापत पाउने कुल रकमको ६८ प्रतिशत मात्र यस वर्ष कोष तथा लेखा नियन्त्रकको कार्यालयमा आएको छ ।

किसानको लागि आएको सो रकम पनि तीन महिनदेखि कोलेनिकामा थन्किएको छ ।

जिल्लाका तीनवटै उद्योगले उपलब्ध गराएको तथ्यांकअनुसार यस वर्ष सरकारी अनुदान ३६ करोड रुपैयाँभन्दा बढी हुनुपर्नेमा २४ करोडको मात्रै अख्तियारी आएको कोलेनिका प्रमुख जगतप्रसाद थपलियाले जानकारी दिए ।
दुई वर्षअघि पनि सरकारले अनुदान रकम पूर्ण रूपमा नपठाउँदा किसानले एक करोडभन्दा बढी रकम पाउन बाँकी नै छ । सर्लाहीमा हाल इन्दुशंकर र महालक्ष्मी चिनी उद्योग मात्रै सञ्चालनमा छन् ।
किसानलाई तीनरचार वर्षदेखिको भुक्तानी नदिएको अन्नपूर्ण चिनी उद्योग यस वर्ष बन्द छ । उद्योग सञ्चालन नहुँदा यस क्षेत्रका किसानलाई उखु बिक्री गर्न समस्या भइरहेको छ ।

About Gayatry Mishra

Check Also

कोरोना भाइरसको विषयमा सबैभन्दा पहिले चेतावनी दिने डाक्टरकै मृत्यु

एजेन्सी, माघ २४ गते । कोरोना भाइरस विषयमा सबैभन्दा पहिले जानकारी दिने चिनियाँ डाक्टर लि …

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wholesale jerseys from china